(१) पदीय कामको सिलसिलामा दुर्घटनामा परी अङ्गभङ्ग भई वा चोटपटकको कारण प्रधान न्यायाधीश वा न्यायाधीश आफ्नो पदको काम गर्नको लागि अशक्त भएमा त्यस्तो प्रधान न्यायाधीश वा न्यायाधीशले बाँचुन्जेलसम्म उपदफा (२) मा लेखिए बमोजिमको निवृत्तभरणको अतिरिक्त उपदफा (५) मा लेखिए बमोजिमको अशक्त वृत्ति समेत पाउनेछ ।
(२) उपदफा (१) बमोजिम अशक्त भएको प्रधान न्यायाधीश वा न्यायाधीशले दफा १५ बमोजिम निवृत्तभरण पाउन सक्ने सेवा अवधि पूरा गरेको भए सोही बमोजिम र पूरा नगरेको भए त्यस्तो अवधि पु¥याउन नपुग अवधिको निमित्त दामासाहीको हिसाबले कट्टी गरी बाँकी हुन आउने निवृत्तभरणको रकम पाउनेछ ।
तर त्यसरी कट्टी गर्दा निजले निवृत्तभरण पाउन सक्ने सेवा अवधि पूरा गरेमा पाउन सक्ने न्यूनतम निवृत्तभरणको तीन खण्डको एक खण्डभन्दा बढी कट्टी गरिने छैन ।
(३) उपदफा (१) बमोजिम अशक्त भएको प्रधान न्यायाधीश वा न्यायाधीशलाई अवस्था हेरी आर्थिक सहायता बापत दश हजार रुपैयाँसम्म एकमुष्ट रकम दिन सकिनेछ ।
(४) उपदफा (१) बमोजिम चोटपटक लागी उपचार गराउँदा लाग्ने उपचार खर्चको शतप्रतिशत रकम त्यस्तो प्रधान न्यायाधीश वा न्यायाधीशले पाउनेछ ।
(५) उपदफा (१) बमोजिम चोटपटक लागी अशक्त भएको प्रधान न्यायाधीश वा न्यायाधीशले उपदफा (२) बमोजिम पाउने निवृत्तभरणको अतिरिक्त निजले खाईपाई आएको मासिक पारिश्रमिकको बीस प्रतिशत बराबरको रकम अशक्त वृत्ति बापत पाउनेछ ।
तर अशक्त वृत्ति पाइरहेको प्रधान न्यायाधीश वा न्यायाधीशले आफ्नो कार्यभार सम्हाल्न सक्ने गरी सक्षम भएमा यो उपदफा बमोजिमको अशक्त वृत्ति पाउने छैन ।
(६) अशक्त वृत्ति पाइरहेको प्रधान न्यायाधीश वा न्यायाधीशको मृत्यु त्यस्तो अशक्त वृत्ति पाउन थालेको मितिले सात वर्षभित्र भएमा सो सात वर्ष पूरा हुन बाँकी अवधि बापत पाउने अशक्त वृत्ति उपदानको रूपमा एकमुष्ट रकम दफा १६ को उपदफा (१) मा तोकिएको व्यक्तिलाई दिइनेछ ।